प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री मण्डल विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री राईले सरकारलाई पूर्णता दिन लागेका हुन् । प्रदेश प्रमुख कार्यालयको सचिव तुलसीराम सेढाईंले बिहान ११ बजे मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी गरिएको बताए ।
मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तारका लागि ८ जनालाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी गरेका हुन् । स्रोतका अनुसार खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषि तथा पशुपक्षी विकासमन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगर नियुक्त हुने निर्णय भएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट तीन जना मन्त्री बन्ने भएका छन् । सामाजिक विकासमन्त्रीमा राजन राई, पर्यटन तथा संस्कृतिमा खिनु लङ्वा लिम्बु र सूचना, सञ्चार तथा सहकारी मन्त्रीमा उपेन्द्र घिमिरे नियुक्त भएका छन् ।
यसैगरि कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम र भूमि, सहकारी तथा यातायातमन्त्रीमा ओमप्रकाश सरावगीलाई नियुक्त गर्ने तयारी गरिएको छ ।
गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सात मन्त्रालयबाट मन्त्रालयको संख्या बढाएर १२ बनाउने निर्णय गरेको थियो । मन्त्रीका आकांक्षी धेरै भएपछि एक मन्त्रालय थप गरिएको छ । १६ कात्तिकमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राईको नेतृत्वमा सरकार गठन भएको थियो ।













