सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ ।प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, विक्र वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएका हुन् । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीको भनाइ उल्लेख गर्दै भने, “व्यवसायीका समस्या भए संवादमार्फत समाधान गर्न सरकार तयार छ । तर समस्या देखाएर अभाव सिर्जना गरिएमा कानुन अनुरुप कारबाहीका लागि सरकार बाध्य हुन्छ ।”
उनका अनुसार आज मन्त्री खाँणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिएकाे र त्यसै अनुरुप गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ । दैनिक उपभोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि गृहमन्त्रालयले आइतबारबाटै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिमार्फत अनुगमन गरी प्रतिवेदन पठाउन पनि भनेको छ । गृह प्रवक्ता पाखरेलका अनुसार जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने अनुगमन समितिले मूल्य बढे/नबढेको, दैनिक उपभोग्य वस्तु अभाव भए/नभएको अनुगमन गरेर सबै जिल्लाले मन्त्रालयमा रिपोर्ट पठाउने छन् ।