पर्वतको फलेवास नगरपालिका–९ भँगरामा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ। सोमबार सकिएको वडाको मतगणना अनुसार अध्यक्षमा काँग्रेसका उम्मेदवार हितमान गुरुङले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार होमबहादुर पौडेललाई १२१ मतको अन्तरमा पराजित गरेका हुन्। गुरुङले ५११ मत पाउँदा पौडेलले ३९० मत पाएका छन्।
वडाध्यक्ष पदमा नै उम्मेदवार रहेका स्वतन्त्र गोपालराज नेपालीले ४५ र राप्रपाका रामबहादुर पौडेल क्षेत्रीले पाँच मत पाएका छन्।
दुईजना खुला सदस्य पदमा ४४५ मत सहित दुर्गाराज सुवेदी र ४३२ मत सहित गणेशबहादुर रिजाल निर्वाचित भएका छन्। उनीहरूसँगै प्रतिस्पर्धामा रहेका एमालेका उम्मेदवारहरू मेघप्रसाद काफ्लेले ३९५, चन्द्रबहादुर पौडेल क्षेत्रीले ३७५ र नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर खत्री क्षेत्रीले ६६ मत पाएका छन्।
महिला सदस्य पदमा काँग्रेसकै विष्णु पौडेल क्षेत्रीले एमालेकी नेत्रकुमारी क्षेत्रीलाई १२२ मतको अन्तरमा पराजित गरिन्। विष्णुको पक्षमा ५१६ मत पर्दा नेत्रको पक्षमा ३९४ मत परेका छन्।
यस्तै दलित महिला सदस्यमा पनि काँग्रेसकी धनकुमारी सार्की ४८७ मतका साथ विजयी भएकी छिन्। उनीसँग प्रतिस्पर्धा गरेका एमालेकी भीमकुमारी सुनारले ३९५ र स्वतन्त्र उम्मेदवार उजेली नेपालीले ३६ मत मात्र पाउँदै पराजित भएका छन्।