बाजुराको बूढीगंगा नगरपालिकाका चार वटा वडामा मतगणना अन्योल भएको छ । नगर एक सातादेखि निर्वाचन अधिकृतविहीन बन्दा मतगणना अन्योल भएको हो । गत वैशाख ३० गते निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले आफू असुरक्षित भएको जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा राजीनामा बुझाएपछि नगर निर्वाचन अधिकृतविहीन बनेको हो ।
उक्त नगरको २, ३, ५ र ९ वडामा विभिन्न पार्टीका कार्यकर्ताबीच झडप भएपछि आफू असुरक्षित भएकाले निर्वाचन कार्य अघि बढाउन नसक्ने जनाउँदै निर्वाचन अधिकृत सापकोटाले राजीनामा दिएका थिए ।
सापकोटाको राजीनामापछि निर्वाचन आयोगले वैकल्पिक व्यवस्था नगर्दा ती वडाको निर्वाचनकार्य अन्योलमा परेको हो । आयोगले बूढीगंगामा निर्वाचन अधिकृत पठाउन खोज्दा कसैले आउन नमानेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताए ।











