नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पालिका चुनावमा पार्टीको जनमत यथावत् रहेको बताएका छन् । आज बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफूहरूको जनमत यथावत् रहेको बताएका हुन् । उनले अन्य पार्टीसँग थोरै मतअन्तर रहेका ठाउँहरूमा गठबन्धनका कारण आफूहरूको पराजय भएको बताए ।
ज्ञवालीले भने, ‘हामी देशैभरिको तथ्यहरू सङ्कलन गरिरहेका छौँ । हाम्रो समग्र जनमत यथावत् छ । तर पाँच सय, एक हजारको प्रतिस्पर्धामा रहेका ठाउँहरूमा एउटा अर्को पार्टी थपिनेबित्तिकै त्यसले परिणाममा त फरक पार्ने भयो । हाम्रो औसत जनमत, ४८ सालको चुनावदेखिको लोकप्रिय मतमा तलमाथि भएको म देख्दिनँ ।’
उनले पार्टीको आन्तरिक कारणले पनि कतै–कतै चुनाव हारेको भन्दै त्यसको समीक्षा गर्ने बताए । उपमहासचिव ज्ञवालीले संसदको यस अधिवेशनमा संवेदनशील खालका विधेयकहरू टुङ्ग्याउनुपर्ने र त्यसमा एमालेको सहयोग हुने बताए ।
ज्ञवालीले नेकपा (एकीकृत समाजवादी) लाई सभामुख र अदालतले बचाइदिएको भए पनि जनताले नबचाइदिएको टिप्पणी गरे ।














