प्राप्त मत बराबर वृक्षारोपण गर्ने घोषणासहित शपथ

रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् । रुपन्देहीको सिद्धार्थनगर, देवदह नगरपालिका, सियारी, शुद्धोधन, रोहिणी, मायादेवी, ओमसतियालगायत पालिकाका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले शपथ लिएका हुन्  ।

भैरहवामा शुक्रबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत धनसिंह महराले नवनिर्वाचित जनप्रतिनिधिलाई शपथग्रहण गराउँदै निर्वाचनमा कसैको जमिनदारीको हिसाबले प्राप्त हुने पद नभएको बताए । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले स्वच्छ, सफा र सुन्दर नगरका लागि आफूले निर्वाचनमा पाएको मत बराबर वृक्षरोपण गर्ने घोषणा गरेका छन् ।

शपथग्रहण समारोहमा नवनिर्वाचित प्रमुख खानले आफूले पाएको ९ हजार १३४ मत बराबर वृक्षारोपण गर्ने घोषणा गरेका हुन् । भैरहवालाई स्वच्छ, सफा र सुन्दर सहर बनाउने आफ्नो परिकल्पना रहेको बताउँदै उहाँले अभियान वृक्षारोपणबाट सुरु हुने जानकारी दिए । सिद्धार्थनगरमा नेपाली काँग्रेसबाट खान नगरप्रमुखमा निर्वाचित भएका हुन् भने उपप्रमुखमा नेकपा (एमाले)की उमा अधिकारी निर्वाचित भइन् ।

१३ वटा वडा रहेको सिद्धार्थनगरमा वडा नम्बर १ मा उज्जवल पोखरेल, वडा नम्बर २ मा छेदीलाल श्रीवास्तव, वडा नम्बर ३ मा नारायण उपाध्याय, वडा नम्बर ४ मा मुक्तिनाथ यादव, वडा नम्बर ५ मा पूरनप्रसाद श्रेष्ठ, वडा नम्बर ६ मा वीरेन्द्रनाथ श्रीवास्तव, वडा नम्बर ७ मा दामोदर शर्मा घिमिरे र वडा नम्बर ८ मा राजनजङ्ग राणा निर्वाचित भएका छन् ।