गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सवको अवसर शुक्रबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गरिरहेको पनि बताए ।
‘बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रलाई चुस्तदुरुस्त बनाइएको छ । त्यस्तो घटना हुनै नदिन आवश्यक कानुनको तर्जुमा गर्न सरकारले गृहकार्य गरिरहेको जानकारी गराउन चाहन्छु’ उनले भने ।
त्यस अवसरमा गृहमन्त्री खाँणले राष्ट्रिय मानव अधिकार आयोगका सबै सिफारिसहरु कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।














