अन्तर्राष्ट्रिय बजारमा इन्धनको लगातार मूल्यवृद्धि भएको छ । रुस युक्रेन युद्धलाई कारण देखाउदैँ विश्वबजारमै इन्धनको मूल्य बढेको हो । नेपालमा पनि यसको प्रभाव देखिएको छ । लगातार मूल्यवृद्धि हुन थालेपछि मानिसहरुले खाना पकाउनका लागि विभिन्न विकल्पहरुको खोजी गरिरहेका छन् ।
त्यसैक्रममा पछिल्ला केही समयदेखि नेपालमा पनि इन्डक्सन चुल्होको बारेमा चर्चा शुरु भएको छ । हालै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि त विद्युतीय गाडीदेखि भान्छामा प्रयोग हुने इन्डक्सन चुलासम्मका सामग्रीमा सर्वसाधारणको झनै चासो बढेको हो ।सरकारले पनि आर्थिक वर्ष २०७९–०८० को बजेटमा विद्युतीय चुल्होलाई प्राथमिकतामा राखेको छ । यस्तै विद्युतीय चुल्होलाई प्रोत्साहन गर्दै खाना पकाउने एलपी ग्यासमा दिदैँ आएको अनुदानलाई कटौती गरेको छ । जसअनुसार अब एलपी ग्यासको मुल्य करिब दुई हजार ५ सय पुग्ने अनुमान गरिएको छ ।
अहिलेको अवस्था हेर्ने हो भने ग्यासको तुलनामा विद्युतीय चुलो ४० प्रतिशत सस्तो पर्न आउँछ । धेरै जनालाई विद्युतीय चुलो भन्ने बित्तिकै सबै एकै प्रकारको हुन्छ भन्ने पनि लाग्न सक्छ । तर विद्युतीय चुलो मुख्यतया इन्डक्सन र इन्फ्रारेड दुई प्रकारको छन् ।
इन्डक्सन र इन्फ्रारेड
सुन्दा एकै जस्तो लागे पनि यी दुवै चुलो फरक छन् । इन्डक्सन चुलोमा तामाको तारबाट बनेको कोइल हुन्छ भने इन्फ्रारेड चुलोमा ह्यालोजेन ल्याम्प र रेडियन्ट कोइलद्धारा हिट (तातो) उत्पन्न हुन्छ । इन्फ्रारेड चुलो हेर्दा इन्डक्सन जस्तै देखिए पनि यसको काम गर्ने शैली भने फरक हुन्छ । यसमा ग्यासमा जस्तै सामान्य भाँडा प्रयोग गरेर खाना पकाउन सकिन्छ ।
इन्डक्सनको तुलनामा यो चुलो अलि महंगो हुने भएकाले र यसले हिटरको जस्तो काम गर्ने भएकाले बजारमा यसको माग र बिक्री कम हुने गरेको छ । सुरक्षाको हिसाबले हेर्ने हो भने इन्डक्सन इन्फ्रारेडको तुलनामा केही सुरक्षित मानिन्छ । इन्डक्सन चुलोमा उपयुक्त हुने भाडा नराखेसम्म यो चुलो चल्दैन भने भाडा चुलोबाट हटाएपछि चुलो आफैं बन्द हुन्छ । त्यस्तै इन्फ्रारेड खाना पकाएर चुलो बन्द गरिसकेपछि पनि लामो समयसम्म चुलो तातो भइरहन्छ ।
इन्फ्रारेड चुलो प्रयोग गर्नुहुन्छ भने बच्चाको पहुँच नपुग्ने ठाउँमा राख्नुपर्छ । साथै चाइल्ड सेफ्टी र अन्य सुरक्षा फिचर भएका इन्फ्रारेड चुलो हेरेर खरिद गर्न सकिन्छ। इन्डक्सन चुलोमा ताप सबैतिर समान रूपमा जाने भएकाले ग्यासको तुलनामा यो चुलोमा छिटो खाना पाक्छ । तर इन्डक्सनमा प्रयोग गरिने भाँडा इन्डक्सन बेस नै हुनुपर्छ । बजारमा इन्डक्सन चुलोमा प्रयोग हुने कुकर, कराही र प्यान उपलब्ध छन् ।
इन्डक्सन चुलो लगभग पाँच वर्ष र इन्फ्रारेड चुलो लगभग १० वर्ष चल्छ ।
ब्रान्ड
अहिले नेपालमा विभिन्न ब्रान्डको इन्डक्सन र इन्फ्रारेडहरू उपलब्ध छ । बाल्ट्रा, सीजी, फिलिप्स, बजाज, मिडिया लगायत कम्पनीका चिनियाँ, नेपाली र भारतीय ब्रान्डका इन्डक्सन चुलो नेपाली बजारमा पाउन सकिन्छ ।
मूल्य
बजारमा २००० देखि ४५०० हजार मूल्यसम्मका इन्डक्सन पाइन्छन् । इन्डक्सनको क्वालिटीमा विशेष ध्यान दिनु जरुरी हुन्छ । इन्फ्रारेडको भने मुल्य भने ५ हजार देखि १० हजार सम्म पर्छ ।
इन्डक्सनको तुलनामा इन्फ्रारेड चुलोको मूल्य थोरै बढी पर्नसक्छ । तर इन्डक्सनमा खाना पकाउने भाडासमेत छुट्टै (फलाम वा स्टेनलेस) किन्नुपर्ने भएकाले समग्रमा इन्डक्सन महँगो पर्न जान्छ ।
क्षमता
साधारणतया इन्डक्सन तथा इन्फ्रारेड चुलोहरू १८ सय वाटदेखि २२ सय वाटसम्मको पाइन्छ । तर धेरै चुलो २ हजार वाट क्षमताका हुन्छन् । कुनैकुनै इन्डक्सन र इन्फ्रारेड भने २२ सय वाटभन्दा माथि पनि हुन्छन् ।
तापक्रम: इन्डक्सन चुलोले छिट्टै हिट उत्पन्न गर्छ, तर यसको हिट चुलोको बीच भागमा हुन्छ । स्टेनलेस वा फलामको भाडामा चुम्बकीय शक्तिमार्फत यसले ताप प्रदान गर्दछ । यसबाट इन्फ्रारेडकाे तुलनामा चाँडाे खाना पकाउन सकिन्छ । तर यसमा डढ्ने सम्भावना पनि हुन्छ, अथवा बीचमा पाक्ने छेउतिर नपाक्ने पनि हुनसक्छ ।
अर्काेतर्फ इन्फ्रारेड चुलोमा विस्तारै हिट उत्पन्न हुँदै जान्छ भने यसले चुलोको सबैतिर बराबर तापक्रम बाँड्छ । यसले गर्दा यो चुलोमा खाना पकाउदा ग्यास चुलोमा पकाएको जस्तै गरी पाक्छ र विशेष ध्यान दिरहनु पर्दैन ।
इन्डक्सनमा झोल भएका खानेकुरा पकाउन सहज हुन्छ । फ्राइ भएका खाना पकाउन भने केही अप्ठ्यारो हुन्छ । इन्फ्रारेडमा तातो सबैतिरबाट आउने भएकाले खाना राम्रोसँग पाक्छ ।













