मन्त्रीबाट फिर्ता हुने भएपछि प्रेम आले भन्छन्-‘पार्टीको निर्णय मान्छु’

नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट मन्त्री फेर्ने भएको छ । सचिवालय बैठकबाट निर्णय गरेर नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री फेर्न लागेको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत गराइसकेको छ ।

प्रधानमन्त्रीलाई नयाँ मन्त्रीहरूको नामसमेत नेकपा एकीकृत समाजवादीले पठाइसकेको छ । एकीकृत समाजवादीका एक नेताले दिएको जानकारी अनुसार अहिले राज्यमन्त्री रहेका भवानी खापुङबाहेक सबै मन्त्री फिर्ता हुने छन् । राज्यमन्त्री खापुङलाई भने स्वास्थ्य मन्त्रीका रुपमा बढुवा गरिने छ ।

अन्य मन्त्रीहरूमा पर्यटनमा जीवनराम श्रेष्ठ, शहरीमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँबर मन्त्री हुने छन् । यो नाम बालुवाटारमा पठाइसकिएको ती नेताले जानकारी दिए ।हिराचन्द्र केसीलाई भने राज्यमन्त्री बनाइने भएको छ ।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।

मन्त्रीबाट फिर्ता हुने भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आफू फर्किन तयार रहेको बताएका छन् । तर अहिले सम्म आफूलाई यसबारे जानकारी नभएको उनले बताए ।

‘पार्टीले फिर्ता बोलायो भने म पार्टीको निर्णय मान्छु । पार्टीले बनाएको मन्त्री हुँ निर्णय त मान्नैपर्‍यो ।’ उनले भने ।