स्ट्यान्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपालबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौताअनुसार युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्यान्डर्ड चार्टर्डमार्फत व्यापार वित्तीय समाधानको लाभ लिन सक्नेछन् ।
बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु) लाई पर्याप्त वित्तीय स्रोत उपलब्ध गराउने हेतुले निर्माण गरिएको हो, जसले उनीहरुको सम्पूर्ण चालू पुँजीलाई समेट्दछ । यसले गर्दा वितरकहरुलाई विशेष गरेर महामारी, तरलता आदि लगायतका कठिन समयहरुमा उनीहरुको वित्तीय स्थिरता सुनिश्चित् गर्न सघाऊ पुग्न सक्ने बैंकले जनाएको छ ।
यसैगरी यसले ठूला कर्पोरेटहरुलाई थप दिगो एवं लचिलो आपूर्ति आबद्धताहरु लागू गर्न पनि सहयोग गर्नेछ ।
हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सीईओ अनिर्वाण घोष दास्तिदारले भने, ‘युनिलिभर नेपालको लागि देशमै यस किसिमको पहिलो सेवा प्रस्तुत गर्न पाएकोमा बैंक हर्षित भएको छ । हामीले हाम्रा कर्पोरेट ग्राहकहरुका लागि समग्र इकोसिस्टम सुनिश्चित गर्न हाम्रो डिजिटल यात्रामा लामो कालखण्ड पार गरेका छौं र भविष्यमा अझ धेरै अग्रगामी समाधानहरु प्रस्तुत गर्ने दिशामा हामी कटिबद्ध छौं ।’
सोही अवसरमा युएनएलका प्रबन्ध निर्देशक अम्लन मुखर्जीले वितरक वित्तीय कार्यक्रमले खास गरेर कठिन आर्थिक अवस्थाहरुमा युएनएललाई निर्बाध प्रगति गर्न सक्षम बनाएको बताए ।













