हिमालयन बैंकको सेयर कारोबार एकवर्षपछि खुलेको छ । गतवर्ष नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेपछि हिमालयन बैंकको सेयर कारोबार रोकिएको थियो । २०७८ वैशाख ३१ बाट दोस्रो बजारमा कारोबार रोक्का रहेको सेयर सोमबार फुकुवा भएको हो।
गत वर्ष हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक एक आपसमा मर्जर हुने सम्झौता भएपछि उनीहरुका सेयर दोस्रो बजारमा कारोबार रोकिएको थियो । चरण चरणमा वार्ता भए पनि अन्तिममा मर्जर भाँडिएको थियो।
इन्भेष्टमेन्टको सेयर गत सोमबार फुकुवा भएको थियो भने एक सातापछि हिमालयनको खुला भएको हो। कारोबार खुल्नासाथ हिमालयन बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।
यसको सेयर मूल्य ३८.१५ रुपैयाँले घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पनि सेयर कारोबार खुलेपछि केही समय हरेक दिन १० प्रतिशतले मूल्य घटेको थियो ।
बैंकको सेयर कारोबार साना लगानीकर्ताको लागि मात्र खुलेको हो । १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीले सेयर बेच्न पाउने छैनन् ।











