नेकपा एमालेका नेता घनश्याम भुसालले स्थानीय चुनावमा एमालेले सोचेजस्तो परिणाम ल्याउन नसकेको बताएका छन्। अन्तर्घात र धाँधलीले धेरै पालिका जित्न नसकेको भनेर झुट बोल्न नहुने पनि उनले भनाई छ ।
काठमाडौंमा आज युवा वाम बहस समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले हामी झगडा गरेका कारण साँचे अनुसार परिणाम नआएको बताए ।
‘अहिलेको डरलाग्दो संकट हाम्रा कारणले हो भनेर बुझनपर्छ । हामी जित्छौं भनेर मात्रै हिँड्यौं। अन्तरधात अनि धाँधली भनेर झुट बोल्दैछौं। यथार्थ के हो भने हामी माथि झगडा गर्यौं, परिणाम आएन’ उनले भने ।
उनले अहिले कान्लाबाट मात्रै खसेको र भिरबाट खस्न बाँकी रहेको भन्ने चिन्ता देखिएको पनि बताए।
‘अहिले हामी कान्लाबाट खसेको हो, भिरबाट खस्न बाँकी छ भन्ने चिन्ता साथीहरुको छ,’ उनले भने, ‘माथिका मान्छेको इगोको कारण यस्तो भयो भन्नेहरू पनि छन्। यो मेरो पद फुस्किन्छ कि भनेर डराइरहेका, कापिरहेकाहरूको लागि सातो फुक्ने कार्यक्रम हो।’
उनले नेकपा फुटेर लोकतान्त्रिक स्थिरताको सम्भावना बरबाद भएको पनि बताएका थिए।
‘हामी एक भएको भए ५७५ हुन्थ्यौं। तीन कम्युनिष्ट पार्टीको विचारमा कुनै भिन्नता छैन। तर हामी एक अर्कालाई गाली गर्दैछौं,’ उनले भने, ‘अहंकार र केवल अहंकार बाहेक केही फरक छैन। तीन पार्टीका नेतालाई किन फुटेका हौं भनेर प्रश्न सोध्नुस उनीहरुसँग जवाफ हुँदैन।’














