सानिमा बैंकले आफ्ना ग्राहकलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न ‘थ्री इन वान’ खाताको प्रणाली परिष्कृत गरेको छ ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सी–आस्बा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन्। यसका साथै थ्री इन वान पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रक्रियाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको छ ।
यो खाता खोल्न ग्राहकले घरमै बसी सानिमा बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । खाता भइसकेका ग्राहकले समेत यसबाट सी–आस्बा तथा मेरो सेयरको सुविधा लिन सक्नेछन् ।
सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा सञ्चालनमा ल्याएको यो खातामा ग्राहकले अनलाइनमार्फत दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन् । यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट ‘थ्री इन वान अकाउन्ट’मा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ । आईपीओमार्फत सेयर खरिद गरेका ग्राहकसमेत केही प्रक्रिया पूरा गरी सानिमा थ्री इन वान खातामार्फत सजिलै सेयर बिक्री गर्न मिल्ने सुविधा यस खातामा रहेको छ ।
सानिमा बैंककोे सातै प्रदेशमा १२९ वटा कार्यालय र १२२ वटा एटीएम सञ्जाल छन् ।












