आर्थिक क्रान्तिका लागि गोरखा आएको हुँ : प्रचण्ड

गोरखा – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताएका छन्।

आज (बिहीवार) गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर १ को याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने , ‘राजनीतिक परिवर्तनको तयारी गोरखाको यही भूगोलबाट गरेको हुँ, राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको हुँ ।’

चुनावबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै अध्यक्ष प्रचण्डले भने यो, ‘मैले यसअघि जितेको चितवनमा छ सय ११ किमी बाटो कालोपत्र भएको छ । म हिँडेको धुले बाटोहरू मेरै कार्यकालमा कालोपत्र गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडीबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिने उनले दाबी गरे।

राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्बर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो ठम्याइ रहेको उनको भनाइ थियो । आर्थिक क्रान्तिको यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गरेको उनले बताए ।