काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग मंगलबार नेपालका लागि जर्मनका राजदूत डा। थोमास प्रिन्सले शिष्टाचार भेट गरेका छन्। भेटका लागि डा. प्रिन्स प्रमुख शाहको कार्यकक्षमा आएका थिए।
भेटका क्रममा प्रमुख शाहले, फोहरको दिगो व्यवस्थापनका लागि सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताए। राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको प्रसङ्गमा चर्चा गर्दै अहिलेको अवस्थाबारे जानकारी लिन चाहेपछि प्रमुख शाहले आफ्नो योजना सुनाएका थिए।
‘फोहर व्यवस्थापनका लागि धेरै प्रविधि छन्, हामीसँग प्रस्ताव पनि धेरै छन्, तीमध्ये वर्गीकृत फोहोरलाई प्रकृतिअनुसार व्यवस्थापन गर्न सकिने दिगो प्रविधि हाम्रो प्राथमिकतामा छ’, प्रमुख शाहको भनाइ छ।
महानगरका प्राथमिक कार्यक्रमका बारेमा जानकारी दिँदै प्रमुख शाहले, मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुनःस्थापना, खुला तथा सार्वजनिक स्थलको संरक्षण, पार्क निर्माण शैक्षिक गुणस्तरको वृद्धि तथा स्वास्थ्य सेवाको पहुँच वृद्धिलगायत क्षेत्रमा काम भइरहेको बताए।
फोहरको वर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत महानगरलाई सहयोग गरेको थियो। राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्दै, परम्परागत संगीत शिक्षण तथा प्रवर्द्धनका लागि सहयोगको इच्छा व्यक्त गरेका थिए। उनले शहरी विकास, निर्माण र व्यवस्थापनका विषयमा चासो राखेका थिए।















