कुन दलले समानुपातिक सांसदमा क-कसलाई पठाए ? (सूचीसहित)

दलहरूले समानुपातिकतर्फबाट सांसद बन्नेहरूको सूची निर्वाचन आयोगमा बुझाएका छन् । आयोगले नाम बुझाउन शनिबार अपराह्न ४ बजेसम्मको समय तोकेको थियो । तर, आन्तरिक विवादका कारण कांग्रेसले आइतबार बिहान करिब सवा १ बजे मात्रै नाम बुझाएको छ । यद्यपि, नागरिकता बोकेर कांग्रेसका केही प्रतिनिधि भने साँझदेखि नै आयोग कार्यालयमा बसिरहेका थिए । अन्य दलहरूले भने समयमै सूची बुझाएका छन् ।

समानुपातिक समावेशी सिद्धान्तअनुसारका क्लस्टर मिलाएर दलहरूले नाम नदिएको अवस्थामा आयोगले नाम सच्याउन आइतबार र सोमबार गरीदुई दिनको समय दिने कार्यतालिका छ । त्यसका लागि आयोगले आइतबार नै दलहरूलाई पत्राचार गर्ने आयोगका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले बताए ।

एमालेले बुझायो समानुपातिक उम्मेदवारको सूची

नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । एमालेको केन्द्रीय पदाधिकारी तथा समानुपातिक सूचीबाट यसअघि सांसद भइसकेका नेताबाहेकका नेताहरूलाई समानुपातिक उम्मेदवार बनाएको छ ।

जसमा स्थायी कमिटी सदस्य रघुजी पन्त, गोरखबहादुर बोगटी, लिलबहादुर थापा, ईश्वरी रिजाल विश्वकर्मासहितका नेताहरू समानुपातिकको बन्द सूचीमा परेका छन् । महिलातर्फ नैनकला थापा, उमा कोइराला, सुनिता बराल, क्रान्ति बुर्लाकोटी, भक्तकुमारी लामा, मेनुका पछाईसहितका नेतृहरू रहेको एक सदस्यले बताए । समानुपातिकको सूचीमा पर्ने नेता रघुजी पन्त यसअघि ललितपुर ३ बाट निर्वाचित सांसद हुन् भने बोगटी कर्णाली प्रदेश कमिटीको पूर्वअध्यक्ष एवं पार्टीको पोलिटब्यूरो सदस्य हुन् ।

त्यस्तै बाग्लुङका थापा माओवादी केन्द्रबाट आएका नेता हुन् । रिजाल एमाले केन्द्रीय कार्यालयका पूर्वसचिव हुन् । नैनकला थापा पूर्वसञ्चारमन्त्री हुन् । उनी उपाध्यक्ष रामबहादुर थापाको पत्नी पनि हुन् । यस्तै सिन्धुलीकी कोइराला केन्द्रीय सदस्य हुन् भने सुनिता र मेनुका विद्यार्थी नेतृ हुन् ।

नेकपा एमालेले सोमबार आयोगको कार्यालयमा उनीहरूसहित ११० जनाको समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको हो । आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनका लागि दलहरूलाई आइतबार र सोमबार दुई दिनको अवधि दिएको थियो । यस्तै बुर्लाकोटी युवासंघको नेतृ हुन् भने लामा पूर्वविद्यार्थी नेतृ हुन् ।

कांग्रेसले बुझायो समानुपातिक सांसद्हरुको सूची

नेपाली कांग्रेसले प्रतिनिधिसभाका समानुपातिक सांसद्हरुको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।खसआर्य (महिला) तर्फ सुजाता कोइराला, पुष्पा भुसाल, डा. डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा चयन भएका छन् ।खसआर्य (पुरुष) तर्फ बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहन पाण्डे चयन भएका छन् ।

बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी आदिवासीजनजाति (पुरुष) तर्फ चयन भएका छन् । आदिवासी जनजाति (महिला) तर्फ ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ र मीना सुब्बा परेका छन् ।

कांग्रेसले मधेशी (पुरुष) मा विनोद चौधरी, स्मृतिनारायण चौधरी र नगेन्द्रकुमार राय तथा मधेसी (महिला) तर्फ सीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा चयन गरेको छ ।त्यस्तै दलित (पुरुष)तर्फ मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र प्रकाश रसाइली चयन भएका छन् भने महिलातर्फ सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली छन् ।

थारू (पुरुष) तर्फ पद्मनारायण चौधरी अनि महिलातर्फ पार्वता डिसी चौधरी र नमिताकुमारी चौधरी चयन भएका छन् । त्यस्तै मुस्लिम पुरुषमा अतहर कमाल मुसलमान र महिलातर्फ सर्वतआरा खानम सूचिमा परेका छन् ।

माओवादी १४ समानुपातिक सांसद

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाएका हुन्।१४ मध्ये १२ महिला र २ पुरुषको नाम बुझाएको छ। माओवादीले प्रत्यक्षमा १८ सीट जितेको छ।

आदिवासी महिला तर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ, रहेका छन् । भने खस आर्यतर्फ हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रुपासोसी चौधरी रहेका छन् । त्यस्तै दलिततर्फ रणेन्द्र बराली, सुशीला श्रीपाली ठकुरी, मधेशीतर्फ मिना यादव,उमरावती देवी यादव भने पिछडिएको क्षेत्रबाट कल्पना मियाँ सामानुपातिक सांसद बनेका छन् ।

रास्वपाका १३ जना समानुपातिक उम्मेदवार

प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने सांसदको नामावली टुंगो लगाएको छ ।

दलिततर्फ सन्तोष परियार, शिव नेपाली रहेका छन् । भने आदिवासी जनजाति डा ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर,सुमना श्रेष्ठ त्यस्तै खसआर्य तर्फ डा. चन्दा कार्की, डोलप्रसाद अर्याल,निशा डाँगी, विनीता कठायत यस्तै मधेसीतर्फ लक्ष्मी तिवारी, मनिष झा भने थारूतर्फ
अशोककुमार चौधरी र मुस्लिमतर्फ असिम शाह समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् ।

जसपाले आयोगमा पठायो समानुपातिक सांसदको नाम
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।

पार्टीको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले जानकारी दिए ।

यसरी सिफारिस हुनेमा प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान छन् । पार्टीले प्रदेशसभा सदस्यका लागि पनि समानुपातिक सांसदको नाम टुंग्याएको छ ।

राप्रपाका ७ जना समानुपातिक सांसद

राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ जना समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। खसआर्य पुरुषतर्फ पशुपतिशमशेर जबरा, खसआर्य महिलातर्फ रोशन कार्की,गीता बस्नेत परेका छन् । भने जनजाती पुरुषतर्फ बुद्धिमान तामाङ, जनजाती महिलातर्फ बीना लामा, मधेशी महिलातर्फ बीना जयसवाल र दलित महिलातर्फ अनिसा नेपाली रहेका छन् ।