उदयपुर – उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पक्षी हुचिल लोप हुँदै गएको छ । बासस्थानको समस्या तथा सिकार गर्ने गरेका कारण हुचिल आजभोलि यस क्षेत्रबाट लोप हुँदै गएको छ ।
बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिर पाखा, बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढीको सिद्धीपुर र बेलकाको कटुन्जेबबलाको पाखा पहरातिर केही वर्ष अघिसमम व्यापकरुपमा पाइने हुचिल हिजोआज यस क्षेत्रमा पाइन छोडेको चौदण्डी बबलाका रामबहादुर मगर बताए । ‘केही वर्षअघिसम्म चौदण्डीको कटुन्जे बबलाको भिरपाखा तथा जङ्गल क्षेत्रमा हिउँद वर्षा दुवै याममा हुचिल जताजतै पाइन्थ्यो’ उनले बताए ।
केही वर्षयता यसको सिकार हुन थालेको र केहीले यसको बासस्थानसमेत नष्ट गरेको पाइएको मगर बताए। हुचिलको सिकार गर्न गोप्यरुपमा अन्यत्र जिल्लाबाट सिकारी आउने गरेको उनको भनाइ छ । स्थानीयसँग मिलेर हुचिल सिकार गर्ने गरेको पाइएको मगर बताए ।
बेलका नगरपालिका–५ को मैनामैनी क्षेत्रको बोपताङ डाँडा पाखा क्षेत्र, चम्पाकोट तथा सुघाचरी भीरपाखामा समेत विगतमा धेरै सङ्ख्यामा हुचिल पाइन्थ्यो । स्थानीय मानबहादुर राई केही समययता फाटफुट्ट मात्र देख्न सकिने बताए ।















