उपत्यकामा मेट्रोको आवश्यकता छ : चिरीबाबु महर्जन

काठमाडौं : ललितपुर महागरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरू सहकार्य गर्न तयार रहेको स्पष्ट पारे।

त्यसैगरी, उनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गरे। उनले यसको निम्ति महानगरपालिकालाई अविलम्व कदम चाल्न आग्रह गरे।

उनले भने ‘काठमाडौं एउटा उपत्यका हो। यहाँ कुनै पनि पालिकाले स्वतन्त्र रुपले आफ्नै बलबुताले सबै पालिकाहरुमा छुने किसिमको मेघा प्रोजेक्ट गर्न गाह्रो पर्छ। काठमाडौं महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसंख्या छ। ३० लाख जनसंख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ। तसर्थ अब यहाँ एककिसिमको मेट्रो अथवा र्‍यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ। तसर्थ यसमा म काठमाडौं महानगरपालिकालाई विशेष अनुरोध गर्न चाहन्छु कि यसमा हामी सहकार्य गरेर अगाडि बढौँ।’

उनले सार्वजनिक खरिद ऐन २०६३ को आमूल सुधार गर्नुपर्ने बताए। सो ऐन स्थानीय पालिकाको लागि असाफसिद्ध रहेको भन्दै यसमा सुधार नभएसम्म पालिकाले काम गर्ने वातावरण नभएको उल्लेख गरे।