काठमाडौं । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आज बिहान १० बजे बोलाइएको सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित प्रस्तुत हुन कांग्रेस शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा सुरु हुने बैठकमा सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा कांग्रेसको अडानबारे छलफल हुने एक नेताले जानकारी दिए । सरकारको पहिलो चरणको नेतृत्व कांग्रेसले लिने कि माओवादीले भन्ने विषयमा सत्ता गठबन्धनमा एकमत हुन सकेको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा दिएकी छन् । सोही समयभित्रै सहमति जुटाउने प्रयासमा नेताहरु सक्रिय छन् । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् ।













