बैरागीखोलाको बाढीले रुकुमपश्चिममा निर्माणाधीन पुल भत्कायो

राप्ती राजमार्गअन्तर्गत मुसीकोट नगरपालिका–५ को साँख खोलामा निर्माणाधीन पुल बाढीले भत्काएको छ । बैरागीखोलाको बाढीले रुकुम पश्चिमको बैरागीठाँटी र सोलाबाङलाई जोड्ने निर्माणाधीन पुल भत्काएको हो ।

पक्की पुल सोमबार बिहान साढे ३ बजेतिर बैरागी खोलामा आएको बाढीले भत्काएको स्थानीयले बताएका छन् ।

पुलमा ढलानको काम सकिएको थियो । ३५ मिटर लम्बाइ रहेको पुल गएको वर्ष नै सम्पन्न हुनुपर्ने भए पनि काम नसकिएपछि निर्माण कम्पनीले एक वर्ष समय थप गरेको थियो ।

बिम र स्ल्याबको काम अब फेरि सुरुबाट गर्नुपर्ने भएको पुल निर्माण कम्पनीका कन्ट्याक्ट म्यानेजर हिरा लामाले बताए । यो पुल निर्माणको काम सूर्य इलाइट जेभीले गरिरहेको छ । पुल भत्किँदा करिब ५ करोडको क्षति भएको लामाले दाबी गरे ।