आफैले चलाएको कार दुर्घटनामा सहप्राध्यापक भण्डारीको मृत्यु

त्रिभुवन विश्‍वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक सह प्राध्यापक डा शंकर भण्डारीको कार दुर्घटनामा परी मृत्यु भएको छ । डा भण्डारी कांग्रेस नेता चन्द्र भण्डारीका भाइ हुन् ।

भण्डारीले आफै चलाएको बा१७च ६०६६ नम्बरको कार मंगलबार राति करिब साढे ८ बजे चिप्लिएर कलभर्टमा खसेको थियो । दुर्घटनापछि भण्डारीलाई बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पुर्‍याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

पूर्व पश्चिम राजमार्गको चरङ्गे चोकबाट २ किलोमिटर उत्तरतर्फको खण्डको सडकमा कार कल्भर्टबाट तल खसेको ट्राफिक प्रहरीले जनाएको छ । छत्रकोट १ हुँगाका भण्डारीसँगै दुर्घटनामा परेका हुँगा घर भई बुटवल बस्दै आएका थानेश्वर भण्डारी पनि घाईते भएका छन् ।

समाजशास्त्रमा पीएचडी गरेका भण्डारी झन्डै डेढ दसकदेखि प्रध्यापनमा संलग्‍न थिए । त्रिवि अनुगमन निर्देशनालयको उपनिर्देशक समेत काम गरेका भण्डारी ४ वर्षसम्म त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयमा सह-नियन्त्रकको रुपमा काम गरेका थिए ।