इलामको माङ्सेबुङ गाउँपालिका-५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जिप इलामको चुलाचुली गाउँपालिका-५ स्थित रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका-५ की अन्दाजी ३० वर्षीय सर्मिला वानेम र माङ्सेबुङ-३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बुको मृत्यु भएको हो ।
घटनामा निरु लिम्बु घाइते छिन् । उनको उपचार भइरहेको छ । मृतकहरुको शव मदनभण्डारी राजमार्गअन्तर्गत चुलाचुली गाउँपालिका र झापाको बेलडाँगी छेउ रतुवा पुलमा फेला परेको हो ।
लु१च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए ।
प्रहरीले सवारी चालक २२ वर्षीय नेत्रहाङ लिम्बुलाई नियन्त्रणमा लिएको छ ।