प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफू असाधारण जनमतका साथ मूलढोकाबाट शक्तिमा फर्किने दावी गरेका छन् । प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक संसदमा बोल्दै ओलीले यस्तो दावी गरेका हुन् । ‘म मूल ढोका, मूल गेटबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ असाधारण जनमतका साथ मूल बाटो बाट आउँछु,’ ओलीले भने ।
उनले आफू परमादेशबाट नभइ जनादेशबाट प्रधानमन्त्री बनेको बताए । ओलीले भने, ‘म यो देश र यस देशका जनताको सेवाको निम्ति जन्मिएको जस्तो लाग्छ । म प्रधानमन्त्री बन्न जन्मिएको होइन । काम गर्दै जाँदा भएँ । म ६४ वर्षसम्म त प्रधानमन्त्री थिइनँ । भइयो । प्रधानन्त्रीबाट हट्दा भनेको थिएँ । म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाट फेरि आउनेछु ।’
उनले आफूलाई राम्रो ग्रहदशाले नभएर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको बताए । ओलीले भने, ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर जनताले मत दिएर हो । म विभिन्न नेताका महत्वाकांक्षा, ईर्श्या, जलन आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन । उछिट्टएर प्रधानमन्त्री पद मेरो भागमा आएको होइन । जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन । म परमादेशबाट होइन जनदेशबाट भएको हो । र, प्रधानमन्त्रीबाट हट्दा मलाई कुनै चिन्ता छैन ।’















