जुम्लामा बजार पसेको भालुले आक्रमण गर्दा २ जना घाइते

भालुले आक्रमण गर्दा जुम्लामा २ जना घाइते भएका छन्‌।​ चन्दननाथ नगरपालिका-५, कार्कीवाडामा बिहीबार बिहान ४ बजेतिर भालुले आक्रमण गर्दा खलंगा बजारमा व्यवसाय गर्दै आएका हिमराज रोकाया र उनकी पत्नी निर्मला रोकाया घाइते भएका हुन्‌। घाइते दुबैको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भैरहेको छ।

जुम्ला बजारमा मोवाइल पसल गरिरहेका उनीहरु बिहान कोठाबाट पसल जाँदै थिए। त्यहीबेला भालुले आक्रमण गरेको हो। निर्मलाको अनुहारमा र हिमबहादुरको टाउको, ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। जंगलबाट बजार छिरेको भालु अहिले पनि नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ।

बिहानैदेखि भालुको खोजी भइरहेको, तर नभेटिएको बताए। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलगायतलाई भालु खोजी कार्यमा खटाइएको छ। आक्रमण गर्ने भालु बजारमा छ वा जंगल फर्कियो भन्नेबारे थाहा हुन सकेको छैन। बजारमै भालु पसेर आक्रमण गरेपछि स्थानीयबासी त्रसित भएका छन्।  अहिले सम्म भालु नियन्त्रणमा नआएकाेले  सबै नागरिकलाई सचेत रहन आग्रह गरिएकाे छ ।