प्रवेशपत्रका आधारमा विद्यार्थीहरुलाई खोप दिन सुरु

काठमाडौँ जिल्लामा विश्व विद्यालयको परीक्षामा सामेल हुने विद्यार्थीलाई बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको  सचिवस्तरीय निर्णय अनुसार काठमाडौँमा साउन ३० गतेसम्म प्रवेश पत्रका आधारमा विद्यार्थीहरूलाई खोप दिन सुरु गरिएको हो ।
विद्यार्थी र कोभिशिल्ड लगाएकाहरूलाई खोप लगाउन प्रहरी अस्पताल रानीपोखरी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राधाश्वामी केन्द्र वसुन्धरामा खोप केन्द्र तोकिएको छ ।
स्वास्थ्य मन्त्रालयले त्रिविलगायत विश्वविद्यालय स्तरका विभिन्न तहका परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप उपलब्ध गराउन सातै प्रदेशका जनस्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको छ ।  विश्व विद्यालयका परीक्षामा करिब ६० हजार विद्यार्थी सहभागी हुने अनुमान छ ।