राजेन्द्र महतोले फेरी भने – नेपाल बहुल राष्ट्रिय राज्य हो, त्यसैअनुसारको शासन र संविधान निर्माण हुनुपर्छ

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने दोहराएका छन् ।
बिहीबार काठमाडौँमा जसपा निकट योङ ईण्डिजिनिष्ठ लिगको प्रारम्भिक भेलामा महतोले बहुल राष्ट्रिय राज्य स्थापित नभएसम्म पछाडि परेका जनताको अधिकार स्थापित हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने बताएका हुन् ।
उनले एकल राष्ट्रिय राज्यको चिन्तन र सोच बाट भएकै कारण समस्या भएको र उत्पीडित जनताले अधिकार पाउन नसकेको बताए । मुलुकमा सात वटा संविधान आएपनि जनताले भने अझै पनि अधिकारबाट वञ्चित हुनुपरेको उनको भनाई छ । उनले यसअघिको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लिएपनि सो बमोजिम काम गर्न नसकेको आरोप लगाएका छन् ।
बहुलराष्ट्रिय राज्य नेपाल स्थापनाका लागि भन्दै योङ ईण्डिजिनिष्ठ लिग गठन गरिएको जसपाका नेताहरूले जनाएका छन् ।