मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि ६ दलिय गठबन्धनले आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दाबी पेश गरेका छन् ।
५५ सांसदको हस्ताक्षरसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले जनमतका सतिश कुमार सिंहलाई मुख्यमन्त्रीमा दाबी पेश गरेको हो ।
राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले बिहानै दाबी पेस गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सासंदले सतिश सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेको उनीहरुले दाबी गरेका छन् ।
मधेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ मन्त्रालय छ । मन्त्रालयको संख्या नबढाउनेगरी दलहरुले मन्त्रालय बाँडफाँड गर्ने सहमति गरेका छन् ।
सहमति अनुसार एमालेले भौतिक पूर्वाधार विकास, शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा जनसंख्या र उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय पाएको छ । यस्तै माओवादीले अर्थ मन्त्रालय र उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालय पाएको छ ।
नेकपा एसलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र गृह संचार तथा कानून मन्त्रालय दिएको छ । सो पार्टीले अर्थ वा भौतिक पूर्वाधार विकास मध्ये एकसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राखेपछि सहमतीमा सकस परेको थियो ।
एक/एक सांसद रहेको दुई दल नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी पनि मन्त्रालय पाएको छ । मुख्यमन्त्री पाएको जनमत पार्टीले वन तथा वातावरण मन्त्रालय पनि पाएको छ ।
एमालेका एक सांसदका अनुसार सबै दलले आजै मन्त्री टुंग्याएर मुख्यमन्त्रीसहित सबै मन्त्रीलाई शपथग्रहण गराउने तयारी छ ।
मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । सरकारको नेतृत्व जनमतले गर्ने पहिल्यै सहमति भएपनि मन्त्रालय भागबन्डामा सहमति जुट्न सकेको थिएन ।