पोखरा । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सर्वोच्च अदालतको जेठ १६ गतेको आदेशबमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ ९३० बमोजिम प्रदेश सभाको पहिलो ठूलो दलको नेताका हिसावले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेको घोषणा असंवैधानिक भएको भन्दै अदालत पुगेका पाण्डे दोश्रो पटक मुख्यमन्त्री बनेका हुन् । ०८० वैशाख १४ मा पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका पाण्डेले केन्द्रीय गठबन्धन फेरबदल हुँदा अल्पमतमा परेपछि गएको २१ फागुनमा राजीनामा दिएका थिए ।
वर्तमान सत्ता गठबन्धनबाट गण्डकीमा मुख्यमन्त्री बनेका एमाले नेता खगराज अधिकारीले संविधानबमोजिम प्रदेशसभामा बहुमत पुर्याउन नसकेपछि प्रदेशसभामा उपस्थितको बहुमतको आधारमा भन्दै सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
तर त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक रहेको ठहर गर्दै संविधानको धारा १६८ ९३० बमोजिमको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।
६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् भने बहुमत पुर्याउन कांग्रेसले थप ४ सिट सहयोग लिनुपर्छ । प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ७, नेपाल समाजवादी पार्टीका १, राप्रपा २ र नेकपा एकीकृत समाजवादीका १ सांसद छन् ।















