ओखलढुंगामा गएराती भिषण वर्षासँगै परेको चट्याङ लागेर सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ पर्दा सात जना बेहोस भएका हुन् ।
चट्याङ लागेर घाइते भएकामध्ये स्थानीय विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अवस्था गम्भीर रहेको छ । उनीहरु तीनै जनालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल सोबरु पुर्याइएको छ । चट्याङ लागेर बेहोस भएका टंककुमारी दाहाल, भेषकुमारी दाहाल र गुणकुमारी भुजेलको अवस्था भने अहिले सामान्य रहेको बेतिनीका वडा अध्यक्ष दामोदर धमलाले जानकारी दिए ।
चट्याङले लागेर स्थानीयका एक दर्जनबढी घरमा क्षति पुगेको छ । आधा दर्जन बढी दुहुना भैसी, गाई तथा अन्य पशु चौपाया मरेको वडा अध्यक्ष धमलाले बताए । घटनाको बारेमा जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनाको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।















