दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेको छ ।
शुक्रबार यी दुई कम्पनीका ६ कर्मचारीलाई पक्राउ गरिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले पुष्टि गरे । अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा जोडिएपछि ६ जनााई नियन्त्रणमा लिइएको हो । उनीहरुको झण्डै ६१ किलो सुन तस्करीमा कनेक्सन देखिएको छ । उनीहरूसम्म कनेक्सन देखिएका ६ जनालाई पक्राउ गरेर अदालतबाट आइतबार ६ दिनको म्याद लिएको सीआईबीले जनाएको छ। पक्राउ पर्नेहरूमा भीमप्रसाद तिमल्सिना, प्रज्ज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा रहेका छन्।
यी कम्पनीहरूको पनि दुरुपयोग गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले दुवै कम्पनीमा भएका सबै खाता रोक्का राखेर अनुसन्धान गरिरहेको छ। यी दुई कम्पनीमा सुन तस्करीमा संलग्न रहेका आरोपीहरूको करिब ३ अर्बको कारोबार देखिएको सीआईबीले जनाएको छ।
कमिसन लिएर सुन तस्करीको काम गर्नेहरूलाई यी दुई कम्पनीमार्फत गिरोहले भुक्तानी दिने गरेको खुलेको सीआईबीका निर्देशक एवं अतिरिक्त महानिरीक्षक ९एआईजी० श्यामलाल ज्ञवालीले बताए।
राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी पे वेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिबाट भइरहेका कारोबारहरू नियामकीय अनुपालनसम्बन्धी छानबिनको क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ। यी दुई संस्थामा रहेका सम्पूर्ण खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको जानकारी पनि केन्द्रीय बैंकले दिएको छ। छानबिन जतिसक्दो चाँडो गरिसक्ने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ।
सुन तस्करीमा कमिसन लिएर काम गर्नेहरूलाई यी दुई कम्पनीमार्फत भुक्तानी गर्ने गरेको पाइएको छ। यी दुई कम्पनीबाट बैंकिङ प्रणालीमा रकम जाने गरेको देखिएको छ।
चिनियाँ गिरोहले हङकङबाट मोटरसाइकलको ब्रेकप्याड ९ब्रेक सु० मा लुकाएर ल्याएको ६० किलो ७ सय ग्राम सुन राजस्व अनुसन्धान विभागले गत वर्ष साउन ३ गते विमानस्थलबाहिरबाट बरामद गरेको थियो। यस प्रकरणमा सीआईबीले पहिलो चरणको अनुसन्धान सकेर भदौ ३१ गते २९ जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर गरिसकेको छ।
उनीहरूमध्ये केही अहिले पुर्पक्षका लागि थुनामा छन् भने केही धरौटीमा छुटेका छन्। तर अनुसन्धानमा कमजोरी भएको भन्दै जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगले अनुसन्धानमा लापरबाही भएको भन्दै विभिन्न व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न राय दिएको थियो।
सीआईबीले उक्त प्रतिवेदनअनुसार र यसअघिको अनुसन्धानमै फरार रहेका व्यक्तिलाई पक्राउ गर्दै थप तथ्य बटुलिरहेको छ।