मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि एमालेले मुद्दा नचलाउने

नेकपा एमालेले बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ ।

नेकपा एमाले बुटवलले मंगलबार पत्रकार सम्मेलन गर्दै घटना दुःखद र गलत भएको बताउँदै मुद्दा चलाउने पक्षमा नरहेको बताएको हो । एमाले बुटवल उपमहानगरका अध्यक्ष बाबुराम पन्थीले बुटवलको पहिरो प्रभावित ज्योतिनगरमा नगरप्रमुखमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

‘घटना जसरी भयो, त्यो गलत छ । तर, यस घटनालाई मुद्दाका रूपमा अघि बढाउने पक्षमा हामी छैनौं’, उनले भने । उनले घटना नियोजित रूपमा भएको आशंका व्यक्त गरे ।

एमालेका जिल्ला अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई आफ्नै कार्यकर्ताले मुक्का हानेपछि पार्टीभित्र पनि बहस सृजना भएको छ ।

पहिरो निरीक्षणका लागि बुटवल–३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई सोमबार पंगेनीले मुक्का प्रहार गरेका थिए । पंगेनीलाई सोमबार साँझ ७ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनी पहिरो प्रभावित हुन् ।