‘डुइङ विजनेश’ प्रतिवेदन प्रकाशन बन्द गर्दै विश्व बैंक

बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले विश्वका विविध मुलुकहरुमा व्यवसाय गर्ने वातावरण कस्तो छ भनेर वर्षेनी सार्वजनिक गर्ने ‘इज अफ डुइङ विजनेश’ प्रतिवेदनको प्रकाशन बन्द गर्ने भएको छ ।

बिहीवार विश्व बैंक समूहले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । सन् २०१८ र २०२० को डुइङ विजनेश प्रतिवेदनमा केही देशको तथ्यांकमा तोडमोड गरिएको सन् २०२० को जुनमा प्रकाशमा आएको थियो । सोही तथ्यलाई दृष्टिगत गरेर बैंकले यो निर्णय लिएको हो ।

डुइङ विजनेशमा अहिलेसम्म उपलब्ध सबै जानकारी, लेखापरीक्षण र कार्यकारी निर्देशक बोर्डको तर्फबाट बैंकले शनिवार जारी गरेको विज्ञप्तिमा डुइङ विजनेश प्रतिवेदनमा उपलब्ध सबै जानकारीको समीक्षा पछि विश्व बैंक समूहको व्यवस्थापनले प्रतिवेदन तयार पार्ने कार्य बन्द गर्ने निर्णय गरेको जारी सूचनामा भनिएको छ ।

विश्व बैंकले कुनै पनि देशमा उद्योग व्यवसाय गर्दा त्यहाँको प्रशासनिक प्रक्रिया, कर असुली, कर तथा भन्सार कार्यालयको कार्य सम्पादन तथा सेवामा द्रूतताको स्थिति, कर्मचारीतन्त्रको रवैया, वैदेशिक लगानी भित्र्याउन र वैदेशिक लगानी फिर्ता लैजान, लाभांश फिर्ता लैजान पुरा गर्नुपर्ने प्रावधान तथा प्रक्रियालगायतको मूल्याङ्कनको आधारमा प्राप्त अंकको आधारमा डुइङ बिजनेश प्रतिवेदनमा मुलुकहरुलाई वर्गिकरण गर्दै आएको थियो ।

वैदेशिक लगानीको लागि यस प्रतिवेदनलाई एउटा भरपर्दो आधारको रुपमा हेर्ने गरिएको थियो ।तर अब भने व्यवसाय र लगानीवातावरणको मूल्यांकनमा नयाँ दृष्टिकोण अपनाइने सूचनामा भनिएको छ ।