बैतडीमा तीन दिनदेखि बेपत्ता एक पुरूषको शव खोलामा भेटिएको छ ।
पाटन नगरपालिका-६ का ५१ वर्षीय वीरभानसिंह विष्टको शव पाटन-पञ्चेश्वर-मेलौली सडकखण्ड अन्तर्गत मेलतडास्थित घाङल खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले बताए । उनी असार १ गतेदेखि बेपत्ता भएका थिए ।
डीएसपी गिरीका अनुसार विष्टको शव खोलामा प्लाष्टिकले बेरेको अवस्थामा शव भेटिएको हो । उनलाई बेपत्ता पारेको भन्दै विष्टका आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ वर्षीय महिला भागरथी विष्टको नाममा उजुरी दिएका थिए । त्यसपछि लगत्तै उनलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो ।
वीरभानको मोबाइल प्रहरी नियन्त्रणमा रहेकी महिलासँग फेला परेको थियो । विष्ट ट्रक चालक हुन् भने नियन्त्रणमा रहेकी महिला शिक्षिका हुन् ।
वीरभानका आफन्तले भने हत्यामा अरु व्यक्तिहरूको पनि संलग्नता रहेको भन्दै उनीहरुको खोजीको माग गरेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।












