सुदूरपश्चिमका विनाविभागीय मन्त्रीहरूलाई मन्त्रालय फुटाएर दिइयो जिम्मेवारी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् ।

सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएका हुन् । आइतबार प्रदेशका चार मन्त्रालय फुटाएर विनाविभागीय पाँच जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकीएको हो ।

जसअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर नेकपा (माओवादी केन्द्र) का अक्कल रावललाई जनस्रोत तथा सहरी मन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री सोडारीले बताए ।

यस्तै सामाजिक विकास मन्त्रालय फुटाएर माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा (एमाले) का वीरबहादुर थापा पातललाई वन तथा सहकारी र नेकपा (एकीकृत समाजवादी) का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ ।

सोडारीले कार्यविभाजन गरेको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई पठाएका छन् । मन्त्रालय फुटेपछि यसअघि विभागीय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय पनि परिवर्तन भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, टीका थापालाई कृषि तथा भूमि सुधार मन्त्रालय, माओवादी केन्द्रका ओमविक्रम भाटलाई स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ ।