सरकारलाई प्रदीप पौडेलको प्रश्न : स्मार्ट लाइसेन्स छपाइमा किन ढिलाइ ?

नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले स्मार्ट लाइसेन्स वितरण प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्ष गराएका हुन् ।

यातायात व्यवस्था विभागसँग लाइसेन्स छाप्न एउटा मात्रै मेसिन रहेको बताउँदै उनले तत्काल प्रिन्टर र जनशक्ति थपेर छपाइको काम अगाडि बढाउनुपर्ने बताए। उनले स्मार्ट लाइसेन्स नहुँदा राजश्व भौचरको भरमा काम चलाउनुपर्ने बाध्यता भएको बताए ।

‘स्मार्ट लाइसेन्स दिने भनेर काम सुरू गरेको एक दशक भइसक्यो । अब छिटो छरितो हुन्छ भन्ने थियो । तर उल्टो भयो । ट्रायल पास भएको वर्ष दिनसम्म लाइसेन्स आउँदैन । आएकाको पनि फोटो क्लियर नभएको र ट्राफिक चेकिङमा अप्ठ्यारो परेको गुनासो सुनिन्छ । स्मार्ट लाइसेन्सको ठाउँमा राजश्व भौचरीले चलाउनुपर्ने व्यवस्था छ। लाइसेन्स भौचरीमा फोटो हुँदैन । भेरिफाइ कसरी गर्ने ? दुरूपयोग हुने जोखिम हुन्छ । पुरानो भइसकेपछि अक्षर पनि अष्पष्ट हुन्छ । अनुगमन गर्न झनै गाह्रो हुन्छ । यातायात व्यवस्था विभागसँग लाइसेन्स छाप्न एउटा मात्रै मेसिन छ । अधिकतम क्षमतामा छाप्दा मासिक सवा लाखदेखि डेढ लाखसम्म लाइसेन्स छाप्न सकिन्छ । हाल नै छपाइका लागि २० लाख बढी आवेदन परेको छ । आवेदन परेका लाइसेन्स छाप्न डेढ वर्ष लाग्छ नयाँ खोज्नेले कहिले प्राप्त गर्छन्,’ उनले भने, ‘स्मार्ट लाइसेन्सको आवेदन दिने वेभसाइट बारम्बार ह्याक र क्रयास हुने गरेको छ । तत्काल समाधान गर्न प्रिन्टर र जनशक्ति थपेर छिटो छपाइ गर्न आग्रह गर्न चाहन्छु ।’