संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको छ । निरन्तरको गृहकार्यपछि कांग्रेस र एमालेका शीर्ष नेताहरू सोमबार मध्यराति नयाँ सत्ता समीकरण बनाउन सहमत भएका हुन् । संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारसहित अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिवद्धता दुवै दलले व्यक्त गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार तत्काल सरकारको नेतृत्व एमालेले गर्ने छ । सरकारको नेतृत्व पहिले एमाले अध्यक्ष ओलीले लिने सहमति भएको छ । त्यसको डेढ वर्षपछि २०८४ को चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको छ । यद्यपि समझदारीलाई अन्तिम रुप दिन भने बाँकी छ ।
सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय पाउने मोटामोटी समझदारी भएको छ । कांग्रेसको भागमा गृहसहित १० वटा मन्त्रालय पर्नेछन् । बाँकी मन्त्रालय साना दलको लागि राखिने भएको स्रोतले बतायो ।