राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री र प्रवक्ता पदबाट बर्खास्तमा परेका मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दैछन् ।
मंगलबार रास्वपा केन्द्रीय समितिको बैठकले अनुशासन आयोगको सिफारिसअनुसार उनलाई साधारण सदस्य मात्र रहने गरी पार्टीका अन्य सबै जिम्मेवारीबाट हटाएको थियो ।
पार्टी हितविपरीत गतिविधि गरेको भन्दै मंगलबार केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्काशित गरेको थियो । त्यसपछि उनले आफू रविको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए ।
सोअनुरूप आज उनले काठमाडौँको अनागनगरस्थित टिमुरे रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी आफ्ना कुरा राख्न लागेका हुन् । पत्रकार सम्मेलन दिउँसो ३ बजे आयोजना गरिने डा. ढकालले बताएका छन् ।













