प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत पाऊँ भन्ने प्रस्ताव राखेका थिए । त्यसमाथि शुक्रबार नै मत विभाजन भएको हो । उनको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरे संसद्मा घोषणा गरेका हुन् । २५८ जना सांसद उपस्थित थिए ।
उनको पक्षमा ६३ मत परेको छ भने विपक्षमा १९४ मत परेको छ । साथै एक जना तटस्थ बसेका छन् ।
नेकपा एमाले, जसपा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिएका हुन् ।
२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आजसहित पाँचौंपटक विश्वासको मत लिएका हुन् ।
नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणका लागि सहमति बनेसँगै उनले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् ।












