त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोनमार्फत खोजी गरिँदै

त्रिशुली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ ।

र्‍याफ्टबोटमा जडान गरेर पानीभित्रका वस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ गोताखोरसहित २५ जना र १७ नम्बर गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षा फौज खोजीकार्यमा परिचालित भएको छ । नेपाली सेना र नेपाल प्रहरी पनि खोजीकार्यमा परिचालित रहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको वाग्मती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराेले त्रिशूलीमा बगाएको थियो ।