गैँडाकोटमा दुई बेवारिसे शव भेटिए, सिमलताल घटनाका हुन सक्ने आशङ्का

नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा दुईवटा बेवारिसे शव फेला परेका छन् ।

गैँडाकोट नगरपालिका-७ गैरी स्थित नारायणी नदीको बिच भागको टापुमा नदीले बगाएर ल्याएको नामथर, वतन नखुलेका दुई वटा शव फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

अन्दाजी २५/३० वर्षीय पुरुष व्यक्तिको शव फेला परेको भनी स्थानीय बोटेहरूले देखि प्रहरीलाई खबर गरेको र खबर पाउना साथ प्रहरी घटनास्थलमा खटिएको पौडेलले बताए ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले शव भएको स्थानमा जाने क्रममा सोही टापुमा घटनास्थलबाट १० फिट नजिकै अन्दाजी १८/२० वर्षको जस्तो देखिने पुरुष व्यक्तिको शव समेत घटनास्थल नजिकै पुरिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

ती शवहरू सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसको यात्रु भएको अनुमान प्रहरीले गरेको छ । सिमलताल घटनामा हराइरहेका यात्रुहरूको खोजी कार्य अझै जारी छ ।

यसअघि भरतपुर महानगरपालिकाको वडा नं २८ गोलाघाट क्षेत्र भेटिएको ऋषि पाल साह बसमा सवार यात्रु भएको प्रमाणित भएको थियो । मृतकका दाइले सो शव समेत बुझेका छन् ।