झण्डै ६ किलो कोकिनसहित ठमेलबाट एक महिला पक्राउ

काठमाडौँ महानगरपालिका–२९ स्थित ठमेलको एक होटलबाट प्रतिबन्धित लागूऔषध कोकिनसहित एक महिला पक्राउ परेकी छिन् ।

नेपाल रुपैयाँ २० करोड ३७ लाख बराबर मूल्य पर्ने ५ केजी ८ सय २० ग्राम कोकिनसहित प्रहरीले ४७ वर्षीया मलेसियन नागरिक पक्राउ परेकी हुन् ।

काठमाडौँ प्रहरी परिसरले ती महिलालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

उनलाई ठमेलको काठमाडौँ सिटी होटलको एउटा कोठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ६ वटा स्कुल ब्गागमा उक्त कोकिन राखिएको अवस्थामा उनी फेला परेकी थिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनी मलेसियाबाट लाओस र बैंकक हुँदै १३ जुलाइ (शनिबार) काठमाडौं आइपुगेकी थिइन् । उनी १९ जुलाइमा नेपालबाट पुन: मलेसिया फर्किँदै थिइन् । त्यसैबीच प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो ।

यो कोकिनको बजार पनि भारतनै भएको प्रहरीले जनाएको छ । उनले लाओसबाट उक्त कोकिन रिसिभ गरेकी थिइन् ।

काठमाडौंलाई ट्रान्जिट बनाएर अर्कै व्यक्तिलाई हस्तान्तरण गर्ने योजना थियो ।