चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरो गई त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि ३०१ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । मंगलबार सशस्त्र प्रहरीले घटनास्थलदेखि गण्डक व्यारेजसम्म परिचालन गरिएको जनाइएको छ । गण्डक ब्यारेज दुर्घटनास्थलबाट १३२ किलोमिटर टाढा छ ।
दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा ११ गोताखोरसहित ८६ जनाको सुरक्षा फौज खटिएका छन् । दुई वटा मोटरबोट र सात वटा र्याफ्टबोटसहित परिचालन भएका छन् ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा ११५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर खटिएका छन् । उनीहरू घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म परिचालन भएको छ । त्यसैगरी सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरूमा परिचालित भएकोे छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ६० जनाको सुरक्षा फौज गण्डक व्यारेज इलाकामा परिचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको सुरक्षा फौज गैडाकोट नगरपालिका–१० को इलाकामा परिचालित भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक व्यारेज इलाका, सुरक्षा वेश चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूूर्वी नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा वेश प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा परिचालित भएका छन् ।
वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बसमाथि पहिरो खस्दा गत शुक्रबार त्रिशुली नदीमा बेपत्ता भएको थियो ।
खोजी तथा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट २ वटा सोनार डिभाइस, २ वटा मोटर बोट र ६ वटा र्याफ्ट बोट प्रयोग भएको छ भने सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट १ सोनार डिभाइस, एउटा मोटर बोट र ५ वटा र्याफ्टसहित जम्मा १४ वटा बोट प्रयोग गरिएको छ ।
हालसम्म फेला परेका १५ वटा शवमध्ये ९ वटाको सनाखत भएको छ भने ६ वटाको सनाखत हुन बाँकी छ ।













