काठमाडौंको बुढानीलकण्ठमा चार्जिङमा राखिरहेको विद्युतीय गाडीमा आगलागी भएको छ । गत पुस ९ गते गोरखाका सुदीप लामिछानेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको एमजी गाडीमा आगलागी भएको हो ।
बूढानीलकण्ठ नगरपालिकाको देउवा चोकनजिकै चौरमा चार्जिङमा राखिएको उक्त गाडीमा अचानक आगलागी भएको थियो । साँझ ६ बजे चार्जमा राखिएको उक्त गाडीमा राति १ बजे आगलागी भएको हो ।
उक्त आगलागीको घटना गुपचुप राख्ने प्रयास भएपनि ढिलोगरी खुलासा भएको छ । चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएका थिए । कम्पनीका प्रतिनिधि र सवारी धनीकै अगाडि मुचुल्का उठाइएको थियो ।
कम्पनीले आफ्नो बचाउ गर्दै चार्जिङका क्रममा गडबडी भएर आगलागी हुनै नसक्ने जिकिर गर्दै आएको छ । त्यस्तै आगलागीबारे टिपाइएको विवरणमा पनि चार्जिङकै क्रममा यस्तो घटना भएको विषय उल्लेख छ ।
लामिछानेले गाडी झन्डै २ वर्ष अघि खरिद गरेका थिए । यसअघि भने गाडीमा त्यस्तो कुनै खराबी नदेखिए पनि अहिले आएर एकाएक आगलागी भएर क्षतिग्रस्त हुन पुगेको बताइएको छ । आगलागीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त छ ।
उक्त गाडीमा कसरी आगलागी भयो भन्ने विषयमा भने हाल प्रहरी तथा गाडीको नेपालका लागि बिक्रेता कम्पनीले अनुसन्धान गरिरहेको बताइएको छ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो ।















