सहकारी छानबिन समिति सदस्य बद्री पाण्डेको ठाउँमा दिलेन्द्र बडू

सहकारी संस्था बचत रकम दुरूपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समिति सदस्यमा नेपाली कांग्रेसले दिलेन्द्रप्रसाद बडूलाई पठाएको छ ।

समितिका सदस्य रहेका कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भएपछि रिक्त ठाउँमा सांसद बडूलाई पठाइएको हो । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा बडूको नाम प्रस्ताव गरेकोमा सभाले अनुमोदन गरेको हो ।

गत जेठ १५ गते प्रतिनिधि सभाले सहकारी बचत ठगीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो । नेकपा (एमाले) का सांसद सूर्य थापाको सभापतित्वमा सात सदस्यीय समिति गठन भएको थियो । यो समितिले २९ सहकारीबारे छानबिन गर्दैछ ।