बेँसीसहर–चामे सडक फेरि अवरुद्ध

पहिरो खसेपछि बेँसीसहर–चामे सडक आज बिहानदेखि फेरि अवरुद्ध भएको छ ।

गए रातिदेखि परेको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार केही वर्षअघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज बिहान फेरि पहिरो खसेको हो ।

पहिरो खसेको स्थानभन्दा मुनि मस्र्याङ्दी नदी छ । भौगोलिक रुपमा पहिरो खसेको ठाउँ अत्यन्तै जोखिमपूर्ण छ ।

सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको छ । बेँसीसहर चाँमे सडक वर्षात् सुरु भएपछि पटकपटक अवरुद्ध हुँदै आएको छ ।