सभामुख देवराज घिमिरेसँग अस्ट्रेलियाका राजदूत फेलीसिटी भोल्कले बिदाइ भेट गरेकी छन् । साढे तीन वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कनुअघि बुधबार राजदूत भोल्कले सभामुखसँग बिदाइ भेट गरेकी हुन् ।
भेटमा सभामुख घिमिरेले राजदूतको रुपमा आफ्नो कार्यकाल सफलतापूर्वक पुरा गरेकोमा बधाई दिए । ‘आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित हाम्रो सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा अत्यन्तै खुशी लागेको छ,’ सभामुख घिमिरेले भने, ‘दुई देशबीचको उच्चस्तरीय भ्रमणमा महामहिमले प्राप्त गर्नुभएको सफलता स्मरणीय रहनेछ ।’
सभामुख घिमिरेले नेपाल र अस्ट्रेलियाबीच यसै वर्ष सम्पन्न भएको व्यापार र लगानी सम्बन्धि सम्झौता (टिफा) को कार्य अघि बढिरहेकोमा खुसी व्यक्त गरे। सम्झौता पश्चात् व्यापार र लगानीका क्षेत्रमा थप विस्तार हुने अपेक्षा रहेको पनि उनले बताए ।