फेदीखोला हाइड्रो पावर कम्पनी र राष्ट्रिय बाणिज्य बैंकबीच जलविद्युत् आयोजना ४.३ मेगावाटमा ऋण लगानी गर्ने सम्झौता भएको छ ।
सम्झौतामा बैंकका तर्फबाट पूर्वाधार बैकिङ विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार कम्पनीले भोजपुरको साल्पासिलिछो गाउँपालिका-६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ) जलविद्युत् आयोजना ४.३ मेगावाटमा ५० करोड राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानी गर्ने भएको हो ।
कुल लागत ९४ करोड रहेको आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यही श्रावण महिनाको अन्त्यसम्म कम्पनीलाई प्रालिबाट लिमिटेडमा परिवर्तन गरी स्वपुँजीको ४४ करोडको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ निष्कासन चालू आर्थिक वर्षभित्र गरिने लक्ष कम्पनीको छ ।
२०८२ असोजभित्र सम्पन्न हुने आयोजनाको लागि आवश्यक जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहुँच मार्ग निर्माण, गोदाम घर, आवास गृहको निर्माण सम्पन्न भएको छ र सिभिल निर्माण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सकिएको छ ।