सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।
बिहीबार राति ९ बजेतिर शाक्य डिस्चार्ज भएको अस्पतालकी निर्देशक प्रा. डा. मीना थापाले जानकारी दिइन् । साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो ।
जहाजमा १९ जना सवार थिए । जसमध्ये क्याप्टेन शाक्य बाहेक १८ जनाको मृत्यु भएको थियो । सेना र प्रहरीले मिलेर उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्याएका थिए ।
त्यहाँ सघन उपचार कक्ष (आइसियू)मा राखेर उनको उपचार भएको थियो । दुई दिनपछि स्वास्थ्य सुधारउन्मुख देखिएपछि उनलाई क्याबिनमा सारिएको थियो ।
सुरुमा पाइलट शाक्यको मेरुदण्डको अपरेसन गर्नुपर्ने बताइएको थियो । यद्यपि, अन्य विधि प्रयोग गरेर अपरेसनबिनै उपचार भएको अस्पतालले बताएको छ ।
‘एमआरआई गरेपछि अपरेसन नगरी उपचार भएको छ । मेरुदण्डको पनि उपचार आवश्यक परेन,’ डा. थापाले भनिन्।