चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुंगासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुंगा खस्दा लोडरका चालक घाइते भएका छन् ।
पृथ्वी राजमार्गमा आज बिहान करिब ७ः४० बजे गएको पहिरो हटाउने क्रममा ९ः२०को समयमा माथिबाट आएको ढुंगाले लागेर लोडर चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइते हुनेमा सगुन कन्ट्रक्सनका लोडर चालक गल्छि गाउँपालिका ६ बस्ने ४६ बर्षिय लिलाधर अधिकारी रहेका छन् । उनको देब्रे हातमा चोट लागेको छ । घाइते अधिकारीको भरतपुर असपतालमा उपचार भइराखेको छ ।
बिहान गएको पहिरो पन्छाउन अझै केही समय लाग्ने देखिएको छ । अहिले एक स्काभेटर र १ वटा लोडरले पहिरो पन्छाउने काम गरिहेका छन् । आज चितवन लगायत देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले सचेतना अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।















