भारतीय विदेशसचिव विक्रम मिश्री अर्को साता काठमाडौं आउँदैछन् । एमाले-कांग्रेसको संयुक्त सरकार बनेपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेशसचिव मिश्री अर्को साता काठमाडौं आइपुग्नेछन् ।
नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई भेटनेछन् । विदेशसचिव मिश्रीले समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग समेत भेटने कार्यक्रम रहेको छ ।
विदेशसचिव मिश्रीको नेपाल भ्रमणबारे नेपाल र भारतका सरकारी अधिकारीहरूले औपचारिक रुपमा केही भनेका छैनन् । उनी गत असार १४ गते भारतको विदेशसचिवमा नियुक्त भएका थिए । राष्ट्रिय सुरक्षा सल्लाहकारका उपप्रमुखसमेत रहेका मिश्रीलाई विदेश सचिवको जिम्मेवारी दिइएको हो ।
विनयमोहन क्वात्राले अवकास पाएपछि मिश्री भारतीय विदेशसचिवमा नियुक्त भएका हुन्।















